बौद्ध धर्मको पवित्र ग्रन्थ 'दोमाङ' अब नेपालीमा पढ्न पाइने भएको छ ।
यसअघि सम्बोटा लिपिमा उपलब्ध हुदैं आएको दोमाङ त्रियान धर्म संघले नेपाली
भाषामा ल्याउन लागेको हो ।
झन्डै १२ सय पृष्ठको दोमाङ अनुवादको कार्य सुरु भइसकेको त्रियानका
प्रमुख तथा अनुवादक खेन्पो वागिन्द्रशीलले बताए । उनका अनुसार एक
वर्षअघिबाट अनुवाद कार्य थालिएको हो । 'हामीले दोमाङ अनुवाद गर्न एउटा टिम
नै बनाएका छौं, झन्डै एकवर्ष भइसक्यो अनुवाद थालेको,' खेन्पो
वागिन्द्रशीलले भने, 'तीन खण्ड रहेको किताबको दुई खण्ड अनुवाद सकिसकेको छ
।'
अब आउने दोमाङमा सम्बोटा, फोनाटिक(तिब्बती उच्चरण तर नेपाली अक्षर) र
नेपाली भाषासहितको आउने खेन्पोले सुनाए । दोमाङ भगवान बुद्धले रचना गरेको
त्रिपिटकको सारंश भएको र हरेक बौद्धमार्गी नेपालीका लागि उपयोगी हुने
भएकोले नेपाली भाषामा अनुवाद गर्नु अति आवश्यक देखिएकोले यो कार्ययोजना अघि
बढाएको खेन्पोले बताए ।

दोमाङ
पाठ गर्दा सम्पूर्ण बुद्धवचन पाठ गरे सरह हुने भएकोले पनि यो सम्पूर्ण
बौद्धमार्गीले जान्नुपर्ने उनको धारणा छ । अहिलेसम्म तिब्बतीयन भाषामा
रहेको र दोमाङ कमैले मात्र बुझ्ने भएकोले यसको सार जान्न नेपाली भाषामा
हुनु अति आवश्यक रहेको खेन्पोको भनाई छ ।
केही बौद्ध ग्रन्थसमेत नेपालीमा अनुवाद गरिसकेका छन् खेन्पोले ।
त्यसैगरी देशविदेशमा बुद्ध वचन र दर्शनलाई सरल नेपाली भाषामा प्रवचन दिदैं
आएका उनी हिन्दु परिवारबाट बौद्धमार्गी बनेका खेन्पो हुन् । उनको वास्तविक
नाम नन्दप्रसाद तिमाल्सिना हो । ११ वर्षदेखि बौद्ध धर्मप्रति झुकाव राख्न
सुरु गरेका उनी नेपालमा सर्वसाधारण बौद्धमार्गीका लागि बौद्धधर्मसम्बन्धी
अध्ययन सामग्रीको अभाव भएको बताउँछन् ।
त्यसैले उनको अध्यक्षतामा एक वर्षअघि देखि नै दोमाङको अनुवाद
थालिएको हो । दोमाङ अनुवादका निर्देशक आचार्य झाम्पा लोसाल हुन् भने सहायक
निर्देशक गुहेश्वरीराज मानन्धर । तीनजनाले अनुवादको जिम्मा लिएका छन् भने
समितिको संयोजकमा ध्रुबबहादुर गुरुङ, सचिव भोजराज लामिछाने र कोषाध्यक्षमा
विष्णु थकाली छन् । समितिका संरक्षक शरण नायक श्री शाक्या ट्रिजिन रिन्पोछे
हुन् । त्यसैगरी अनुवादक समितिमा लामा कमल भण्डारी, पुष्पमुनि बज्राचार्य
पनि छन् । विदेशमा रहेका नेपालीले पनि अनुवादका लागि सहयोग गरिरहेका छन् ।
त्यसरी सघाउनेमा अमेरिकाबाट बुद्ध मानन्धर, डा अनिता मानन्धर, डा किशोर
शेरचन, आङछिरिङ शेर्पा, बेलायतबाट अन्तिम गुरुङ, नरेश गुरुङ,
अस्ट्रेलियाबाट निमा ग्याल्चेन शेर्पा छन् । त्यसैगरी तेजप्रसाद गौचन,
कान्ति लामा, तुलसिंह गूरुङ पनि यस समितिमा छन् ।
दोमाङ अनुवादमा लागिपरेका छन् गुहेश्वरीराज मानन्धर पनि । पेसाले
सिभिल इन्जिनियर मानन्धर ८२ वर्ष पुगे । उनी अनुवादमा पूरा समय दिएर लागेका
छन् । भन्छन्, 'म रिटाएर मान्छे, पूरा समय यही अनुवादमा लागेको छु ।'
तिब्बतियन भाषामा अरु ग्रन्थहरु पनि अनुवाद गरिसकेका उनी २०४० बाट नै
अनुवादा कार्यमा लागेका थिए ।
आफुहरु स्वयंसेवी रुपमा लागिपरेको बताउँदै मानन्धरले दोमाङ नेपाली
भाषामा ल्याउन टोलीले अथक प्रयास गरिरहेको बताए । उनले भने, 'प्रायः
धेरैजसो हिमाली बुद्धिस्टले बुद्धले भनेको कोर कुरा बुझेकै छैनन्, यसका
लागि दोमाङ नेपालीमा आउन जरुरी देखेर हामी लागेका हौं, यसमा हाम्रो समुह
भोलन्टियरली लागेको छ ।'
अब एक वर्षभित्रै अनुवाद गरिएको दोमाङ सार्वजनिक गर्ने तयारीमा
लागेको छ त्रियान । यसका लागि आउँदो वैशाख पूर्णिमा उपयुक्त हुने खेन्पो
वागिन्द्रशीलले बताए । उनले भने, 'हामीले अनुवादित दोमाङ साकादावा
पूर्णिमाका दिन टुँडिखेलमा भव्य समारोहबीच सार्वजनिक गरिने योजना गरेका छौं
।'
के छ त दोमाङभित्र ?
खेन्पो वागिन्द्रशील भन्छन्, 'हरेक बौद्धमार्गीले आफ्नो र जगतको भलो
होस भनेर हरेक वर्ष दोमाङ पाठ गर्दछन् । यसले लाभ पनि मिल्दछ ।
चन्द्रपत्रोअनुसार लोसार मनाउनेहरुका लागि यो अति उपयोगी पुस्तक पनि हो ।
भविष्यमा आउने नराम्रा घटनाबाट बचाउने सुत्रहरु यसभित्र छन् ।' यो भित्र
तीन खण्ड छन्, सुत्र, तन्त्र र विविधा छन् । यसको सुरुमै मञ्जुश्रीनामा छ ।
यसमा आयु कसरी लम्ब्याउने, ब्ल्याक म्याजिकलाई कसरी रोक्ने भन्ने विषय पनि
छ । यो सबै विषयलाई ऐतिहासिक व्यक्ति लामा तारानाथले संकलन गरेका हुन् ।
हिमाली बौद्धमार्गीका लागि यो उपयोगी हुने उनको भनाई छ । उनका
अनुसार दोमाङ बुद्धवचनको सारंश हो । दोमाङभित्र कसरी जीवनयापन गर्ने भन्ने
तरिकाहरु सिकाइएको छ । त्यसैगरी मन्त्रहरु पनि भएको उनले बताए । ती
मन्त्रहरु पढ्नका लागि भने विशेष अभिषेक प्राप्तले पढेमात्र फल प्राप्त
हुने बताइन्छ । हिमाली बौद्धमार्गीको घरमा दोमाङ राखेको पाइन्छ । यो सबैले
राखेको पाइएपनि यसभित्र के छन् भनेर धेरैले थाहा नपाएको कारण यसलाई अनुवाद
गर्न लागिएको त्रियानले जनाएको छ ।
सहयोगको खाँचो
प्रसिद्ध र पवित्र ग्रन्थ नेपालीमा अनुवाद गर्नका लागि खर्चको कमी
भएको उनले सुनाए । यस अनुवाद अभियानमा अनुवादकहरुले स्वयंसेवी रुपमा अनुवाद
गर्दा एकहजार प्रतिका लागिसमेत ५० लाख रुपैयाँ खर्च लाग्ने उनको अनुमान
गरिएको छ । 'अहिले हामीले झन्डै ७० प्रतिशत अनुवाद सकाइसकेका छौ, सबैभन्दा
धेरै खर्च कागजमा लाग्ने देखियो, ५० लाख नभइ यो काम सकिन्छ जस्तो लागेन,'
खेन्पो वागिन्द्रशीलले भने । यसैले यो अभियानको लागि सहयोगको खाँचो रहेको
उनले बताए ।
समितिको कोषमा अहिले ९ लाख जम्मा भइसकेको कोषाध्यक्ष विष्णु थकालीले
बताइन् । व्यक्तिगत सहयोग आउने क्रम जारी रहेको उनले सुनाइन् । कोषाध्यक्ष
थकालीले भनिन्, 'अहिले हामीलाई व्यक्तिगत सहयोग मात्र आएको छ,
स्वदेशविदेशका बौद्धमार्गी महानुभावले सहयोग गर्ने क्रम जारी छ ।'
आफुहरुले काम थालेपछि मात्र सहयोग अभियान थाल्ने नीति लिएका कारण अब
सबैसामु सहयोगका लागि अनुरोध गर्ने उनले सुनाइन् । १० हजार रुपैयाँ सहयोग
गर्ने सहयोगीलाई एक सेट दोमाङ उपलब्ध गराइने र सहयोगीको नाम पुस्तकमा
प्रकाशन गर्ने समितिले जनाएको छ । त्यसैगरी ५० हजार सहयोग गर्नेलाई पुस्तक
लोकार्पणका दिन रिन्पोछेबाट विशेष अभिषेक तथा सम्मान गरिने समितिले जनाएको छ
।
Categories:
News